दैलेख : आर्थिक अभावले सदरमुकाम दैलेख बजार सम्म सेवा लिन आउन नसकेका दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका दुर्गम क्षेत्रका १ हजार ४ सय नागरिकहरूले निःशुल्क विशेषज्ञ सेवा प्राप्त गरेका छन् ।
स्वास्थ्य सेवा कार्यालय दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका र एभरेस्ट क्लब दैलेखको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न शिविरमा पाठेघर समस्या, क्यान्सर पत्ता लगाउने विधि, भिडियो एक्स–रे, बालबालिका सम्बन्धी सेवा सँगै हाड जोर्नी तथा नशा रोग विशेष सेवा प्रदान गरिएको हो ।
चारै जना विशेषज्ञ डाक्टरहरूले विशेषज्ञ सेवा प्रदान गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका जनस्वास्थ्य निरीक्षक नमराज सुवेदीले जानकारी दिएका छन् ।
सेवा लिन आएका अधिकांश महिलाहरूमा पाठेघरको समस्या देखिएको र सोको समाधानका लागि विशेषज्ञ स्थानीय स्तरमै विशेषज्ञ सेवा प्रदान गरिएको थियो । जटिल समस्या भएकालाई थप सहजिकरण सहित प्रदेश अस्पताल सँगै मातहतका अस्पतालहरूमा रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख धर्मराज रेग्मीले जानकारी दिएका छन् ।
निःशुल्क विशेषज्ञ सेवा लिनेमा महिला तथा बालबालिकाको संख्या ९ सय रहेको छ भने पुरुषहरूको संख्या ५ सय रहेको छ । गाउँमा स्वास्थ्य समस्या लुकाएर बस्नुपरेका आम महिला दिदिबहिनीहरुको लागि शिविर निकै प्रभावकारी भएको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर उपप्रमुख मनसरा शर्माले जानकारी दिएकी छन् ।






